नेपालमा पेट्रोलियम पदार्थ तथा ग्याँसको अन्वेषण व्यवस्थित रुपमा बैज्ञानिक ढंगले अगाडि बढाउने उद्देश्यले बि.सं. २०३९ मा खानी तथा भूगर्भ विभाग अन्तर्गत पेट्रोलियम अन्वेषण तथा प्रबर्द्धन परियोजनाको स्थापना गरिएको हो। स्थापना पश्चात परियोजनाले पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन गर्नको लागि आन्तरिक स्रोत तथा बाह्य सहयोगमा भौगर्भिक डाटाहरु संकलन गर्ने कार्यहरु गरेर डाटा प्याकेज तयार गरि समय समयमा अद्याबधिक गर्दै आइरहेको छ। यसका साथै विद्यमान कानूनमा रहेको व्यवस्था अनुसार पेट्रोलियम कार्य गर्नको लागि सूचना प्रकाशन गरी अन्तर्राष्ट्रिय तेल र ग्याँस कम्पनीहरु मार्फत प्रवर्द्धनात्मक कार्यहरु पनि गर्दै आइरहेको छ।
नेपालको भूभर्ग र भौगर्भिक इतिहास तथा बनावटसँग मेल खाने पूर्वमा भारतको आसाम र पश्चिममा पाकिस्तानको पोतवार क्षेत्रमा लामो समयदेखि पेट्रोलियम पदार्थको उत्पादन भइरहेको छ।नेपालमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्याँस रहेको प्रमाणको रुपमा दैलेखको पादुकास्थान, शिरस्थान र नाभिस्थान लगायतका क्षेत्रहरूमा सतहमा देखिएको कच्चा तेल र सो क्षेत्रमा कालान्तर देखि निरन्तर बलिरहेको प्राकृतिक ग्याँसको ज्वाला लाई लिन सकिन्छ। त्यस्तै नेपालको तराई र चुरे क्षेत्रमा पेट्रोलियम तथा ग्यास बन्नको लागि उपयुक्त पत्रे चट्टान रहेको हुँदा त्यहाँको भौगर्भिक संरचनामा पेट्रोलियम पदार्थ पाइने सम्भावना रहेको छ।
नेपालमा औपचारिक रुपमा पेट्रोलियम पदार्थको अन्वेषण वि.सं. २०३६ मा अन्तर्राष्ट्रिय विकास संस्था विश्व वैंकको प्राविधिक सहयोग अन्तर्गत देशको दक्षिणी भू-भागमा ४८,००० वर्ग कि.मि. क्षेत्रमा एरोम्यागनेटिक सर्वेक्षणबाट सुरु भएको थियो । यस सर्वेक्षणबाट नेपालको भू-सतह मुनी पेट्रोलियम पदार्थ हुन सक्ने विभिन्न भौगर्भिक संरचनाहरु देखा परेकाले यस्ता सकारात्मक परिमाणहरुको आधारमा थप पेट्रोलियम सर्वेक्षण कार्यहरु संचालन गर्नु पर्ने ठहर भएको थियो।
वि.सं. २०३९ - २०४१ सम्म विश्व वैंकको सहयोगमा फ्रान्सको सि.जि.जि. कम्पनी मार्फत १२५१ लाईन कि.मी. सेस्मिक सर्भे सम्पन्न गरिएको थियो भने वि.सं. २०४१ - २०४२ मा वेलायतको एक कम्पनीको प्राविधिक सहयोगमा तराई, चुरे तथा महाभारत श्रृंखलाको केहि भाग ओगटने गरी करिव ६०,००० वर्ग कि.मी. फोटोजियोलोजिकल नक्साहरु सहितको प्रतिवेदन तयार गरिएको थियो।
पेट्रोलियम अन्वेषण परियोजनाबाट विभाग गरिएका भूगर्भिक, भू-रासायनिक तथा भू-भौतिक अध्ययन तथा अनुसन्धानले नेपालको दक्षिणमा रहेको तराई र चुरे पर्वत श्रृंखलाले ओगटेको क्षेत्रमा पेट्रोलियम पदार्थहरूको सम्भावना देखाएकोले पेट्रोलियम कार्यको लागि उक्त क्षेत्रमा पश्चिमबाट पूर्वसम्म कुल ४४,२२० व.कि.मि. क्षेत्रफललाई करिब समान क्षेत्रफल रहेका दश (१०) वटा अन्वेषण खण्डमा विभाजन गरिएको छ। यी अन्वेषण खण्डहरूमा पेट्रोलियम ऐन तथा नियमावली बमोजिम बोलपत्र आह्वान गरी अन्तर्राष्ट्रिय तेल र ग्यास कम्पनीहरू मार्फत पेट्रोलियम अन्वेषण गराउने प्रवर्द्धनात्मक कार्य परियोजनाले गर्दै आइरहेको छ।
परियोजनाबाट १० वटै अन्वेषण खण्डहरु को रंगीन भौगर्भिक नक्साहरु १:२५०,००० स्केलमा प्रकाशित भएका छन् भने हालसम्मका अन्वेषणका कार्यक्रमहरुबाट संकलित विभिन्न भौगर्भिक, भू-भौतिक, भू-रसायनिक तथा ड्रिलिङ्ग डाटाहरु समावेश गरी Data Sales Package तयार पारिएको छ।
नेपालमा पेट्रालियम कार्यको लागि बेला बेलामा गरिने बोलपत्र आह्वान अनुसार अन्तर्राष्ट्रिय तेल कम्पनीहरुले परियोजनाको डाटा सेन्टरमा आई डाटा अध्ययन गर्नुका साथै आफुलाई आवश्यक डाटा खरिद गर्ने गरेका छन्। यसरी डाटा प्याकेज विक्रि, भू-वहाल दस्तुर तथा अन्य दस्तुर वापत नेपाल सरकारलाई पेट्रोलियम कार्यबाट हालसम्म कूल २०,६०,५५३ अमेरिकी डलर राजस्व प्राप्त भएको छ।
परियोजनाले आफ्नो क्रियाकलापहरु नेपाल पेट्रोलियम ऐन २०४०, पेट्रोलियम नियमावली २०४१ र पेट्रोलियम (आयकर) नियमावली २०४१ अन्तर्गत रहेर सञ्चालन गर्दै आइरहेको छ।